चन्द्रौटा,कपिलवस्तु-टीबी शाह मोमोरियल यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशका मध्यक्रमका ब्याट्सम्यान रौनक श्रीवास्तवले ऐतिहासिक प्रदर्शन गर्दै दोहोरो शतक प्रहार गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा गण्डकी प्रदेशविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि रौनकले ११७ बलमा १६ चौका र १६ छक्काको मद्दतले २१७ रनको विस्फोटक इनिङ खेले।
लुम्बिनीका अर्का ब्याट्सम्यान लक्ष्मण कुमालले पनि ६० रनको योगदान गरे। टोली ४७ ओभरमा ४०३ रनमा अलआउट भयो।
यो स्कोर नेपाली घरेलु क्रिकेट इतिहासमै एक इनिङमा बनेको सर्वाधिक हो। साथै, घरेलु राष्ट्रिय क्रिकेटमा यो पहिलो दोहोरो शतक समेत हो।
एसिसी इस्टर्न रिजन यू-१६ प्रतियोगिताअघि आयोजना गरिएको यस प्रतियोगितामा सातवटै प्रदेशका यू-१६ टोलीहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता सुर्खेतमा रहेका दुई फरक मैदानमा सञ्चालन भइरहेको छ।
प्रतियोगिता सम्पन्न भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले यू-१६ राष्ट्रिय टोलीको घोषणा गर्नेछ।
0 Comments