कपिलवस्तु, जेठ १७ – आठौँ नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि कपिलवस्तु नगरपालिका वडा नं. २ ले जितेको छ। फाइनल खेलमा वडा नं. १२ लाई ७ विकेटले पराजित गर्दै वडा २ च्याम्पियन बन्न सफल भयो।
वडा १२ ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो। निर्धारित २० ओभरको खेलमा वडा १२ ले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनायो। टोलीका लागि आरएन मिश्रले ३६ बलमा ३४ रन तथा रमजान अलीले १३ बलमा १९ रन बनाए।
बलिङतर्फ वडा २ का सरफुद्दिन गद्दीले प्रभावशाली प्रदर्शन गर्दै ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ४ विकेट लिए।
जवाफमा वडा २ ले १२.३ ओभरमै लक्ष्य पूरा गर्दै १०२ रन बनायो र सात विकेटको सहज जित हात पार्यो । वडा न. २ का पवन गुप्ताले १८ बलमा ३६ रन र शिवकुमार मैरयाले २३ बलमा ३३ रनको योगदान दिए।
फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका आकाश यादवले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिएर ‘प्लेयर अफ द म्याच’ घोषित भए।
वडा १२ का जीवन मोर्याले प्रतियोगिताभर १० विकेट लिएर ‘बेस्ट बलर’ को उपाधि पाए भने, ‘प्लेयर अफ द सिरीज’ को उपाधि वडा न. १२ का विजय कुमार उपाध्यले प्राप्त गरे। उनले प्रतियोगितामा ६२ रन बनाउनुका साथै ६ विकेट लिएका थिए।
उपाधिसँगै विजेता वडा २ ले नगद ६०,००० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेता वडा १२ लाई नगद ३०,००० रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
पुरस्कार वितरण समारोहमा पूर्वमन्त्री सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशसभा सदस्य सुधाकर पाण्डेय र कपिलवस्तु नगरप्रमुख सुदीप पौडेलले संयुक्त रूपमा विजेता र उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरेका थिए।

0 Comments